Sunday, September 6, 2009

शिक्षण अस्पताल मै ४० हजार खर्चमा मिर्गौला प्रत्यारोपण

शिक्षण अस्पतालले ४० हजार रुपैयाँ शुल्कमै मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध गराएपछि प्रत्यारोण गराउने बिरामीको चाप अत्यधिक बढेको छ ।

अस्पतालले एक वर्षयता ३६ जनालाई सफल प्रत्यारोपण सेवा उपलब्ध गराएको छ । सुरुका केही बिरामीलाई निःशुल्क सेवा उपलब्ध गराएको अस्पतालले ४० हजारमा अन्य बिरामीलाई नियमित सेवा उपलब्ध गराउँदै आएको हो ।


'४० हजार रुपैयाँ मात्रै अपरेसन शुल्क लिन्छौं, मिर्गौला दिने र लिने दुईजनाको बेडशुल्क छुट्टै तिर्नुपर्छ,' अस्पतालका नेफ्रोलोजी विभागप्रमुख दिव्या सिंहले नयाँ पत्रिकासँग भनिन् । स्वदेशमै सस्तो सेवा उपलब्ध भएपछि प्रत्यारोपण गराउनेको चाप बढेको सिंहले जानकारी दिइन् । 'हामीकहाँ एक सय आठजनाले प्रत्यारोपणका लागि नाम लेखाएका छन्, मंसिर-पुससम्म प्याक भइसक्यो, नयाँलाई पालो नै छैन ।'


हरेक साता एकजनाको प्रत्यारोपण गर्ने अस्पतालको लक्ष्य रहेको उनले जानकारी दिइन् । अस्पतालले हरेक बुधबार प्रत्यारोपण गर्ने गरेको उनले जानकारी दिइन् । सिंहका अनुसार बुधबार बिदा पर्दा शल्यक्रिया नै रोकिने गरेको छ । अस्पतालले सफल प्रत्यारोपण गरेका ३६ जनामध्ये दुईजनाको मात्र मृत्यु भएको छ । दुईजनामध्ये एउटाको मृत्यु प्रत्यारोपणबाट नभई दिमागको रक्तनलीमा रहेको ट्युमरका कारण भएको र अर्कोले नियमित औषधि नखाई रक्सीसमेत पिएकाले मृत्यु भएको विभागप्रमुख सिंहले स्पष्ट गरिन् । शिक्षण अस्पतालले एक वर्षअघि प्रत्यारोपण सेवा सुरु गरेको हो । अस्पतालको शुल्कबाहेक औषधिलगायत विभिन्न परीक्षण शुल्क भने बिरामीले नै बेहोर्नुपर्छ । नेपालमा नै सस्तो सेवा उपलब्ध भएपछि लाखौं खर्चेर भारत जानुपर्ने बाध्यताबाट बिरामीहरू मुक्त भएका छन् । भारत गएर प्रत्यारोपण गराउँदा १० लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने गरेको छ ।


तर, गत मंसिरमै प्रत्यारोपण सेवा सुरु गरेको वीर अस्पतालले भने हालसम्म ११ जनाको मात्र प्रत्यारोपण गरेको छ । ११ जनामध्ये नौजनाको निःशुल्क प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ । दुईजनासँग भने जनही एक लाखका दरले शुल्क लिइएको वीर अस्पताल नेफ्रो


लोजी विभागप्रमुख डा. राजेन्द्र अग्रवालले जानकारी दिए ।


वीर अस्पतालले पनि सातामा एकजनालाई प्रत्यारोपण सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ । तर, बिरामी नगएकाले दुई सातामा एकजनाको मात्र प्रत्यारोपण भइरहेको उनले जानकारी दिए । 'हामीकहाँ प्रत्यारोपण गराउने बिरामी नै छैनन्, सातामा एउटाको ट्रान्सप्लान्ट गरिने भने पनि दुई सातामा एकजना पनि हुन सकेको छैन,' अग्रवालले भने ।

No comments: