Thursday, September 24, 2009

कलाकारसँग कोइराला


हाम्रो फिल्म टेक्निकल्ली एकदमै राम्रो बनेको छ, आजमात्रै ५-६ वटा अखबारमा यसको तारिफ छापिएको छ। विदेशी बजारमा लैजानका लागि हजुरले सहयोग गरिदिनुपर्‍यो,' सोफामा अघि सर्दै उद्धव पौडेलले भने। उद्धवको कुरालाई थप प्रभावकारी बनाउन सँगै बसेका डा. भोला रिजाल अघि सरे। उनले भने, 'वीराटनगरकै मान्छेका नाताले पनि हजुरले पहल गरिदिनुपर्‍यो।'

रिजालको कुरा सुनेपछि गिरिजाप्रसाद कोइरालाले विस्तारै हात चलाए। पावरवाला चस्मा भित्रका आँखा अर्कोपट्टिको सोफाको छेउमा बसेका उद्धव पुत्र निरकतिर घुमाए। अनि बोले, 'वीराटनगरको भनेर होइन, योंगर जेनेरेशनका लागि म जे पनि सहयोग गर्न तयार छु। तिमरुलाई कुनै असजिलो वा गाह्रो पर्‍यो भने आउ, जे चाहिन्छ म टोट्टल सर्पोट गर्छु, मेरो पूरा कोअपरेशन तिमेरुलाई हुनेछ।'
सँधैजसो कार्यकर्ता र नेपाल भ्रमणमा रहेका विदेशीले भरिने कोइराला निवास महाराजगञ्जको बैठक कोठा बुधबार फिल्मकर्मीले भरियो। फुलपातीमा रिलिज हुने उद्धव पौडेलको नयाँ फिल्म 'कुसुमे रुमाल'को टिमलाई कोइरालाले चियापानमा बोलाएका थिए। यसैले फिल्मका निर्माता उद्धव, निर्देशक निरक, हिरोइन रुबी भट्टराईलगायतको टोली कोइराला निवास पुगेको थियो। फिल्मका हिरो निरज बराल र अर्की हिरोइन उषा रजक भने टोलीमा थिएनन्।

सबभन्दा धेरैपटक देशको प्रधानमन्त्री भएको रेकर्ड कोइरालाको नाममा छ। अखबारलाई आधार मान्ने हो भने साठी वर्षभन्दा लामो राजनीतिक जीवनमा सबभन्दा धेरै आलोचना खेप्ने नेतामा पनि उनको टक्करमा कोही आइपुग्दैन। भन्नेहरू गिरिजाप्रसाद कोइरालालाई 'डिक्टेरर' भन्दिन्छन् र लेख्नेहरू 'कोइरालाका अगाडि परेपछि बाहिर गाली गर्ने पनि लत्रिन्छन्' भनेर लेख्दिन्छन्। तर, बुधबार कोइरालाले फिल्म, संगीत र राजनीतिका कुरा गर्दा आफूलाई कतै माथि राखेनन्।

'हाम्रो फिल्म अडियन्स भनेको जम्मा दुईदेखि पाँच प्रतिशत हो, बाहिरको बजारमा फिल्म लैजान सकियो भने फिल्ममा लगानी पनि बढाउन सकिन्छ,' छोरा पौडेलले भने। त्यसमा बाबु पौडेलले थपे, 'भारत, मलेशिया र खाडी देशमा थुप्रो नेपाली छन्, त्यहाँ देखाउन पाए हुन्थ्यो। हजुरले पार्टीको विदेश विभागलाई पनि भन्दिनुपर्‍यो।' बाबुछोराका कुरा सुनेपछि सायद गिरिजाप्रसाद कोइरालाभित्रको बाबु जाग्यो उनले छोरी सुजातालाई सम्झे। 'म सुजातालाई भन्छु,' उनको स्वर अलि मलिन भयो, 'अहिले त अमेरिका गएकी छे, भएको भए म यहीँ बोलाउँथे, आएपछि म भन्छु।'

कुराकानी अघि बढ्दै जाँदा कुराको विषय पनि बदलिइरह्यो। 'सबै पार्टीमा विभाजन छ,' शान्ति सुरक्षाको कुरा उठ्दा उनले भने। 'माओवादी र एमालेमा दुई गु्रप देखिएको छ, कांग्रेसमा त चार-पाँच वटै छन्,' कोइराला हाँसे। पार्टीका आन्तरिक विवादका समाचार पढेर दिक्क भएका कलाकार पनि सँगै हाँसे। लगत्तै कोइरालाले पार्टीहरूका बीच बढ्दो वैमनस्यताको कुरा झिके। 'यत्रा ठूला नेताहरू आफूलाई नसुहाउने गरी आफ्नो लेबल बिर्सेर बोलिरहेका छन्, यसले अर्न्तराष्ट्रिय समुदायमा नराम्रो म्यासेज गयो, यिनले चलाउन नसक्ने रहेछन् भन्ने पर्‍यो।'

भेटमा उद्धवले आफ्नो नयाँ फिल्मभन्दा बढी नेपाली फिल्मको विदेशी बजारको कुरा गरिरहे। उनले घरी नेपालभन्दा पछि फिल्म बनाउन थालेर पनि एक सय देशमा रिलिज हुने श्रीलंकाका फिल्मका कुरा गरे, घरी भारतमा नेपाली फिल्म सेन्सरलाई खुकुलो बनाइदिने पहल गरिदिन आग्रह गरे। बीचमा डा. भोलाले विदेश भ्रमणमा जाँदा 'बुझेका' फिल्मकर्मी कसैले नलगेको गुनासो गरे। जसको जवाफ कोइरालाले यसरी दिए, 'यो सब आफ्नो मान्छे लैजान खोजेर हो।' कोइराला आफैंले चाहिँ कति 'जानेका'लाई लगेका छन्? यो प्रश्न कसैले सोधेन।

'फोटो खिच्न त बाहिर जानु पर्छ,' कुराकानीका बीचमा फ्ल्यास चल्न थालेपछि कांग्रेस सभापतिले भने। कोठाका सबैजसोले सहमतिमा टाउको हल्लाए। आफ्नो कुरामा सहमति जुटेको देखेपछि कोइराला थप जोशिए, 'मान्छेहरू मेरा बारे के-के कुरा गर्छन्, ...पिपल'लाई म एकदम ठीक छु भनेर देखाउन बाहिर फोटो खिच्नुपर्छ,' कारण यसरी खुल्यो।
'कुटनीति असफल भएपछि कलाको पालो आउँछ,' कोइरालाले अन्तराष्ट्रिय सम्बन्धको कुरा गरे। एकछिन राज्य कमजोर हुँदै गएकोमा चिन्ता पनि व्यक्त गरे। अनि सुरु भयो संगीतको कुरा। 'म रेडियोमा गीत सुनिरहेको हुन्छु, हिन्दी फिल्मका गीतमा सब यहाँका धुन लगेजस्तो लाग्छ' उनले मनको कुरा भने। ती कुन गीत हुन् भन्ने 'डिटेल्स्'तिर उनी लागेनन्, फोटो खिच्नका लागि उठे।

घरको कम्पाउन्डमा फोटो खिच्न लहर मिलाउँदै गर्दा उनले आफ्नो पछाडि बसेका निरक पौडेललाई अगाडि बोलाउँदै भने, 'नयाँ जेनेरेशन भएर पछाडि बस्ने, तिमीहरू अगाडि आउनुपर्छ।' अर्को छेउकी हिरोइन रुबी भट्टराईलाई पनि बोलाए। आफुलाई ताकिरहेका तीन चारवटा क्यामेरा देखेपछि उनले ठट्टा गरे, 'यत्रा क्यामेरा छन्, कता फर्किने हो मलाई भन है।'

फोटो सेसनकै बीचमा उद्धवले 'कुसुमे रुमाल'का क्यामेराम्यान राजु थापालाई चिनाए। तुरुन्तै उनले थापालाई प्रश्न गरे, 'तपाईंको क्यामेरा खोई त, ल्याउनु पर्दैन?' पछाडिपट्टिको गाडी स्टार्ट भइसकेको थियो, 'अग्लो व्यक्तित्व भएका नेता' बाहिर हिँड्ेन तयारीमा थिए। दुई मिनेटमा फिल्मको क्यामेराम्यानको कामको वर्णन गर्न संभव थिएन। यसैले राजुले हाँसेर प्रश्नलाई टारिदिए।

८६ वर्षका कोइरालालाई देशको सबभन्दा सक्रिय नेता मान्नेको जमात ठूलै छ। पार्टी अधिवेशन होस्, या चुनाव ठाउँमा पुग्ने कीर्तिमान अझैसम्म उनको नाममा छ। तर, बुधबार मध्यान्हको आधा घण्टामा उनले दसपटक जति 'नयाँ पुस्ता'को कुरा गरे। र, आफूलाई बेग्लै कोटीमा राखे 'हामी त आउटडेटेड भइसक्यौं।' उनी बेलाबेला आफ्ना लागि आफै डेटलाइन पनि तोक्छन्। जस्तै, संविधान बनाउने मेरो अन्तिम काम हो, देशमा शान्ति नल्याइ म छोड्दिन। उनलाई हेर्दा लाग्थ्यो, गिरिजाप्रसाद कोइराला त्यस्तो 'प्रौढ'को नाम हो, जसले कहिल्यै 'बुढो' हुन जानेको छैन। कलाकारमात्र होइन, पार्टीमा उनीपछिको लाइनमा उभिएका उनकै 'चेला'हरूले पनि यो कुरामा विमति जनाउँदैनन् होला!

No comments: