Sunday, September 6, 2009

शिक्षण अस्पतालमा एक्सरे छैन

इँटा र ढुंगाले मेसिन थिचेर आकस्मिक सेवा

मेसिनहरू बिगि्रएपछि शिक्षण अस्पताल महाराजगन्जमा रेडियोलोजी विभागका सम्पूर्ण सेवा बन्द भएका छन् । अस्पताल रेडियोलोजी विभागका सिटी स्क्यान, जनरल एक्सरे, मिर्गौलाको पत्थरी परीक्षण गर्ने इन्ट्रभेनस पिलोग्राम मेसिन, ब्रेस्ट क्यान्सर परीक्षण गर्ने मेमोग्राफी मेसिन र एमआरआई मेसिन बिगि्रएर थन्किएका छन् ।

बिरामीको अत्यधिक चाप हुने सो अस्पतालमा सम्पूर्ण एक्सरे सेवा बन्द हुँदा बिरामी मर्कामा परेका छन् । अस्पतालबाहिर एक्सरे गराउनुपर्दा तीन/चार गुना महँगो शुल्क तिर्न बिरामी बाध्य भएका छन् । 'मेसिन बिगि्रएकाले एम्बुलेन्स चढेर आएका बिरामीलाई समेत बाहिर पठाउनुपर्ने बाध्यता छ,' अस्पताल रेडियोलोजी विभागका एक कर्मचारीले भने ।

अस्पतालको जनरल एक्सरे १५ दिनदेखि बन्द छ । त्यस्तै मिर्गौलाको पत्थरी परीक्षण गर्ने इन्ट्रभेनस पिलोग्राम मेसिन बिगि्रएको चार महिना भइसकेको छ । सिटी-स्क्यान मेसिन बिगि्रएको पनि दुई साता भएको छ । ब्रेस्ट क्यान्सर परीक्षण गर्ने मेमोग्राफी मेसिनले काम नगरेको दुई साता भएको छ भने एमआरआई मेसिन चार वर्षदेखि सञ्चालन बन्द भएको छ ।

सबै अटोमेटिक एक्सरे मेसिन बिगि्रएपछि पुराना हातले चलाउने मेसिनबाट आकस्मिक कक्ष र वार्डका बिरामीलाई अस्पतालले सेवा प्रदान गर्दै आएको छ । स्टोरमा थन्क्याइएको मेसिन फिटिङसमेत नगरी इँटा र ढुंगाले थिचेर आकस्मिक कक्षको एक्सरे गर्ने गरिएको रेडियोलोजी विभागका कर्मचारीले बताएका छन् । 'अटोमेटिक मेसिन मेन्टिनेन्समा पठाएकाले ढुंगा र इँटाले थिचेर म्यानुअल चलाइरहेका छौं,' ती कर्मचारीले नयाँ पत्रिकासँग भने ।

शिक्षण अस्पतालमा मात्र दैनिक ६ सयभन्दा बढी बिरामीले एक्सरे सेवा लिने गरेको रेडियोलोजी विभागले जनाएको छ । तर, मेसिन बिगि्रएपछि आकस्मिक कक्षका र वार्डका गरी दैनिक २०/३० जनाले मात्र सेवा पाइरहेको सो विभागका एक कर्मचारीले बताए ।

No comments: