Thursday, December 25, 2008

ज्ञानेन्द्र र सुदबीच गोप्य वार्ता

राजगद्दी त्यागेर नागरिक जीवन बिताइरहेका पूर्व राजा ज्ञानेन्द्र हिजो–आज सक्रिय हुन थालेका छन्। माघ १९ को कदम चाल्न उकास्नेहरुले पूर्व राजा ज्ञानेन्द्रलाई चूप लागेर नबस्न सल्लाह दिने गरेका छन्। जोसँग भेट्दा पनि अरुको कुरा बढी सुन्ने आफू कम बोल्ने गरेका ज्ञानेन्द्रले पछिल्लो पटक भारतीय राजदूत राकेश सुदसँग सोल्टी होटलको रेगल स्विट्स्मा भेटेका
गत मंसिर २४ गते बेलुकी आफ्ना ड्राइभर सुधन थापालाई गाडी हाँक्न लगाएर उनी राजदूत सुदलाई भेट्न सोल्टी होटल पुगेका हुन्। बेलुकी ६.३० बजेदेखि झण्डै ८.३० बजेसम्म ज्ञानेन्द्र र भारतीय राजदूत सुदबीच मुलुकको राजनीतिक स्थितिका बारेमा कुराकानी भएको थियो। ह्वीस्कीको चुस्की लिँदै भएको उक्त भेटमा पनि ज्ञानेन्द्रले आफ्नो कुरा राख्नेभन्दा राजदूत सुदको कुरा बढी सुनेको स्रोतले जानकारी दिएको छ।
ढाकामा सम्पन्न सार्क शिखर सम्मेलनमा आफूले आतंकवादविरुद्ध लड्न सार्क क्षेत्रका सरकार प्रमुखहरुसँग आग्रह गरेको र आतंकवादप्रति दुईवटा मापदण्ड नअपनाउन भारतलाई आग्रह गर्दा भारतीय प्रधानमन्त्री मनमोहन सिंह आफूसँग रिसाएको प्रसंग पनि पूर्व राजा ज्ञानेन्द्रले राजदूत सुदलाई सुनाएका थिए।
नेपालको हरेक मामिलामा भारतीय हस्तक्षेपको अप्रत्यक्ष रुपमा व्यंग्य गर्दै नेपाल र भारतबीच सम्बन्ध राम्रो बनाउन भारतले जहिले पनि सकारात्मक सोच बनाउन राजदूत सुदलाई सुझाव दिएका थिए। एकातिर माओवादीलाई आतंककारीको सूचीमा राख्ने, अर्कोतिर तिनै आतंककारीलाई शरण दिएर नेपालको राजनीतिमाथि हस्तक्षेप गर्ने भारतीय नीतिले कसैको भलो नहुने चेतावनी पनि पूर्व राजा ज्ञानेन्द्रले दिएको स्रोतले बताएको छ। उक्त भेटमा राजदूत सुदले भविष्यमा के गर्ने विचार छ भनी राखेको जिज्ञासामा पूर्व राजा ज्ञानेन्द्रले लोकतन्त्रमा जनताको निर्णय नै सर्वोपरी हुन्छ, नेपाली भएर बाँच्न पाउने मेरो अधिकार अक्षुण राख्न चाहान्छु भन्दा राजदूत सुद भावविह्वल भएको स्रोतले जानकारी दिएको छ।
यसबाहेक ज्ञानेन्द्र र राजदूत सुदका बीच माओवादी सरकार र माओवादी गतिविधिका बारेमा पनि लामो कुराकानी भएको स्रोतले बताएको छ। माओवादीको क्रियाकलाप नसुधि्रएको र जनगणतान्त्रिक संविधान निर्माण गर्ने बहानामा राज्यसत्ता कब्जाको नीति माओवादीले लिएको कारण त्यसबाट उत्पन्न हुन सक्ने राजनीतिक अवस्थाका बारेमा पनि दुई पक्षबीच गम्भीर वार्ता भएको बुझिएको छ। माओवादी लडाकुलाई गर्न सकिने तर सेनामा समायोजन गर्न नहुने भारतीय अडान राजदूत सुदले भेटका अवसरमा दोहोर्‍याएका थिए।
कुटनीतिक जीवनको तितामिठा अनुभव सुनाउँदै अफगानिस्तानपछि नेपाल आउन पाउँदा आफू अत्यन्तै खुशी भएको कुरा पनि राजदूत सुदले ज्ञानेन्द्रलाई सुनाएका थिए। नेपाललाई भारतले अत्यन्त महत्वपूर्ण ठाउँमा राखेको र हरेक पटक अनुभवी, पाका व्यक्तिहरुले मात्रै नेपालको राजदूत हुने अवसर पाउने गरेको तथ्य सुनाउँदै आफू पनि केही वर्षपछि अवकाश हुने भएकाले नेपालमा रहँदासम्म राम्रो काम गर्न सके जीवनमा सन्तुष्ट हुने थिएँ भनेर सुदले पूर्वराजा ज्ञानेन्द्रलाई आफ्ना अन्तरमनको कुरा सुनाए। उनले ज्ञानेन्द्रको भित्री कुरा खोतल्न खोजेका थिए। तर, भारतीय शासकहरुबाट नराम्रो धोका खाएका ज्ञानेन्द्रले सुदको कुरा 'सुन्ने' बाहेक 'बोल्ने' कम गरेका थिए। बीच बीचमा सुदले ज्ञानेन्द्रलाई 'हिज मेजेष्ट्री' भन्दा पूर्व राजा ज्ञानेन्द्र मुसुक्क हाँस्ने गरेका थिए। सोल्टीबाट बाहिरिँदा पूर्व राजा ज्ञानेन्द्रको अनुहारमा चमक देखिन्थ्यो– प्रत्यक्षदर्शीले बतायो।
प्रधानमन्त्री प्रचण्ड आफैं सरकारबाट बाहिरिने कुरा गरिरहेको बेला भारतीय राजदूत सुद र पूर्व राजा ज्ञानेन्द्रबीचको गोप्य भेट अर्थपूर्ण रहेको राजनीतिज्ञहरु बताउँछन्। ज्ञानेन्द्रलाई यसअघि पटक–पटक भेटेका कमल थापा, पशुपतिशमशेर जबरा आदिले पनि माओवादी जिम्मेवार नरहेको र माओवादीकै कारण संविधान बन्न नसक्ने कुरा ज्ञानेन्द्रलाई जाहेर गरेका थिए। यसबीच ज्ञानेन्द्र र गिरिजाप्रसाद कोइरालाबीच लामो फोनवार्ता भएको कुरा पनि चर्चामा आएको छ। राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले पनि ज्ञानेन्द्रसँग भेट्ने समय माग गरेको सूत्रले बताएको छ। खुमबहादुर खड्का पनि पूर्व राजा ज्ञानेन्द्रको सम्पर्क सूत्रमा रहेको समाचार स्रोतले बताएको छ।
आगामी ०६७ साल जेठ १७ गते नयाँ संविधान आउन सकेन भने मुलुकमा संक्रमणकाल लम्बिने र संवैधानिक संकट निम्तिने कुरा पूर्व राजालाई भेट्नेहरुले जानकारी गराउँदै आएका छन्।
एकातिर माओवादी सरकारमा पुगेर पनि मुलुकको समस्या जहीको तही हुनु अर्कोतिर माओवादी सरकारविरुद्ध भारत र अमेरिकाले चलखेल गर्नुले माओवादी सरकारको आयु यति नै छ भनेर कसैले भन्न सक्ने अवस्था छैन!

Ram Kumar Shrestha
Dubai, U.A.E.

No comments: