Wednesday, September 23, 2009
राणाशासनको दबदबाको समयमा काठमाडौं लक्ष्मी दरबारमा जन्मेका पशुपतिशमशेर
महाराजगन्ज शिक्षण अस्पतालअगाडि उभिएको पशुपतिशमशेरको निवास पुग्दा उनी 'सुकला होइबक्सेको' खबर आयो । उनीसँग कुरा गर्न लगभग एक घन्टा त कुर्नैपर्यो । आज उनीसँग खानदानी संवाद गर्नुथियो । पशुपतिशमशेरले संभ्रान्त वर्गको उच्च तहको जीवन बिताए । अहिलेसम्म पनि उनी 'भुजा ज्युनार' गर्छन्, 'सुकला' हुन्छन् र गणतान्त्रिक नेपालमा पनि उनको 'सवारी' चल्छ । उनको बैठकसम्म पुग्न अझै हुक्के र बैठकेहरूको अगवानी चाहिन्छ । त्यसपछि मात्रै उनको पि्रय कुुकुरको पालो आउँछ ।
राणाशासनको दबदबाको समयमा काठमाडौं लक्ष्मी दरबारमा जन्मेका पशुपतिशमशेरले जीवनमा कहिल्यै दुःख देखेनन् । त्यसैले सुख उनका लागि कहिल्यै पराइ हुन पाएन । उनको दरबारका कामदारको संख्या नै पनि ५/६ सय थियो । अनि 'नाति जर्नेल'लाई हेरचाह गर्ने सुसारे नै आठजना थिए । खाना खुवाउने, लुगा फेरिदिने, शौचकर्ममा बोकेरै पुर्याइदिनेे सुसारे नै थिए । अहिले ६८ वर्षको संघारमा उभिएर पछाडि फर्केर हेर्दै छन् उनी । कस्तो लाग्यो त्यो जीवन ? 'असम्भवजस्तो लाग्छ,' साँझ डुब्नै लागेको घाम हेदर्ैै उनी सुनाउँछन्, 'त्यो दरबारिया सुखसयलको जीवन अर्कै जीवन हो कि जस्तो लाग्छ ।' के अहिले त्यो जीवन गिर्दो छ त ?
धेरै छ दुःखान्तको भेल, पैरो । तर, पशुपतिले सुखान्तको जुलुस मात्र देखे । साँचो सुखको निचोड के हुन्छ होला ? त्यो त पशुपतिले अहिले पनि फेलापारेका छैनन् । त्यसवेला उनी दरबारमा थिए । खुब सुख थियो जीवनमा । तर, राणाशासनमा भोगेजस्तो सुखसयल फेरि फर्केर आएन । तैपनि नाति जर्नेलको जीवनलीला आमनेपालीको भन्दा निकै फरक छ, निकै संभ्रान्त । तर, उहिलेको रबाफ उहिलेकै हो । अब कहाँ पाउनु ! पहिले र अहिलेको जीवन दाँजिहेरे कस्तो लाग्ला ? 'अब त्यस्तो जीवन बाँच्न नपरोस्जस्तो लाग्छ,' उनले भने । दरबारमा बाजे मोहनशमशेरलाई 'मनबुबा' भनिन्थ्यो । दिनको एकपटक पनि बाजेको दर्शन गर्न पाइन्नथ्यो । दरबारमा मान्छे यति हुन्थे कि भीड देख्तैमा अत्यास लाग्थ्यो ।
विसं २००७ सालमा राणाशासन ढल्यो । दरबारिया सुखसयल उस्तै रहने कुरै भएन । त्यतिवेला उनी नौ वर्षका थिए । सात वर्षको उमेरमा उनलाई बुबा विजयशमशेरले पढ्न भनेर दार्जिलिङ पुर्याएका थिए । यताको परिवर्तन उनले महसुस गर्न पाएनन् । राणाशासनको अन्त्य भएपछि पनि उनलाई नेपाल ल्याइएन । बरु नाति जर्नेल पढ्न बेलायत पुगे । 'धेरैपछि मात्रै नेपाल फर्किएँ,' उनले सुनाए, 'मलाई राणा सुखसयलको खासै अनुभव भएन ।'
राणा खानदानमा जन्मेका उनले धेरैखाले जिन्दगी भोगेका छन् । अनेक रंग मिसिएका छन् उनी बन्न । जिन्दगीलाई अनेक कोणहरूबाट नियालेका छन् उनले । बेलायत पढ्दा उनले आफैं खाना पकाउनुपथ्र्यो । आफैं स्टोभ बाल्नुपथ्र्यो । आफैं लुगा धुनुपथ्र्यो । पछि पनि दरबारिया सुखसयलमा हुर्केका भए यी सबै जीवनमा गर्नुपर्ने थिएन । जीवनलाई यी रूपहरूमा भोग्नुपर्ने थिएन । तर, परनिर्भर जीवन आफूलाई कति पनि मन नपर्ने उनले सुनाए । त्यो जिन्दगीमा दुःख थिएन । त्यस्तो स्वर्गबाट एकाएक पृथ्वीतलमा प्रवेश गर्दा कस्तो भो त ? 'त्यो एक हिसाबले रमाइलो जीवन थियो । त्यहाँ सबै कुरा थियो, तर आत्मिक सुख सायद मिल्दैनथ्यो,' उनले सुनाए, 'बिलास थियो, तर ती सबै अरूले तारतम्य मिलाइदिएको ।' उनलाई राणाशासन एउटा व्यवस्था हो, एक दिन ढल्नैथियो भन्ने लाग्दो रहेछ । 'त्यो त ढल्थ्यो नै कुनै पनि व्यवस्था धेरै टिक्दैन । पछि हुँदा जरैदेखि त्यो मक्किएर आउँछ,' उनले भने ।
दरबारिया सयलबाट अलिकति हटेको यत्तिको समय बितिसक्दा पनि उनले त्यो समयको गुलियो बिर्सिएका छैनन् । त्यहाँका चालचलन, आनीबानीहरू एक-एक गरी आँखामा आउँछन् । सानो छँदा दरबारभित्र उनलाई हेरचाह गर्ने आफ्नै आमा थिइनन्, धाइआमा थिइन् । 'म उनलाई 'बु' भन्थेँ,' उनले सुनाए, 'आमालाई त भेट्नै पाइन्नथ्यो । त्यही दिनको एक/दुई घन्टाजति मात्रै हो आमालाई देख्ने ।' बुबालाई त दिनको १५ मिनेट मात्रै देखिन्थ्यो ।
बेलायत बसेर फर्केपछि पनि उनी त्यही दरबारमा बसे, जहाँ उनको बाल्यकाल बितेको थियो । दरबारमा पहिलेजस्तो सुसारेहरू थिएनन् । माया गरेर दूध चुसाउने धाइआमा थिइनन्, मात्र थिए ठूला खम्बाहरू । अत्यासलाग्दो
समय ! त्यसवेला उनी ठिटा थिए । कोही आइदेओस् र जिन्दगीको पनि रस आओस् भन्ने वेला एक्लै बस्दा एक्लै बस्न कति उदासलाग्दो हुन्छ होला ? त्यो पनि त्यति ठूलो दरबारमा । दरबारको जिन्दगी सम्झेर अहिले पनि अत्यास मान्छन् उनी । कति धेरै कोठाहरू थिए । ती सबै खाली मात्रै । फेरि कयौं कोठाहरू त बन्द थिए । ती सबै कोठाहरूबाट एउटा चिच्याहट आइरहेजस्तो । दाजुहरू छुट्टै बस्थे । 'अत्यासलाग्दो हुन्थ्यो दरबारका खाली कोठाहरू देख्दा । आँखामा पहिलेकै जस्तो धेरै सेनाहरू आउँथे । सुसारे आउँथे र माया गर्ने धाइआमा आउँथिन्,' उनले सुनाए, 'एक्लै थिएँ दरबारभरि, बिहे भएको थिएन । पूरै निरस लाग्थ्यो जिन्दगी ।'
हुन त उनको दरबारी छाँटकाँट पछि पनि रह्यो । यता नेपाल आइसकेपछि उनले सरकारी जागिर खाए । के खाँचो थियो र जागिर खान ? 'कर्मचारी हुन मन लाग्यो,' उनी बितेका दिनमा फर्किए, 'सरकारी जागिरको अनुभव कस्तो होला भन्ने उत्सुकता मनमा थियो ।' ००७ साल पछाडि पनि राणाहरूको जिन्दगी खासै फेरिएको थिएन । लगभग उस्तै थियो । आफ्नो शासन हुँदाका सबै सम्पत्ति उनीहरूकै थिए । त्यही सम्पत्तिमा आफ्नो रबाफ थियो । 'तर, शिरवरिपरिको आभा हराउने रहेछ । प्रजातान्त्रिक व्यवस्था आएपछि आफू पनि प्रजातान्त्रिक हुनैपर्यो । अबचाहिँ आफ्ना शासनका दिनहरू सम्झेर बस्नु मात्रै थियो राणाहरूले ।' शासन ढलेपछि सहरमा भएको आफ्नो प्रभाव कम हुँदै गए पनि काँठका जिल्लाहरूमा राणाहरूको प्रभाव निकै पछिसम्म रहेको उनलाई सम्झना छ । 'तर, त्यस्तो रबाफ थिएन राणाहरूमा,' उनले भने, 'परिवार महत्त्वपूर्ण थिएन, सत्ताको पो महत्त्व हुन्छ त । अति नै कम राणाजीहरू मात्रै आफ्नो तहतप्कामा थिए । समाजमा कतै-कतै असर थियो राणाको ।'
राणा खानदानमा जन्मेका पशुपतिले पछि राजनीति गरे । सिन्धुपाल्चोकमा उनले धेरैलाई सपना बाँडे । धेरैका सपनाको खेती गरे र वर्षौंसम्म चुनाव पनि जिते । राजनीति गर्नु के जरुरी थियो ? फरि सबैले आफ्नो सपनाको बाटो पछ्याउने हो । के सपना थियो जीवनमा ? सबै राजनीतिज्ञले बोल्नेजस्तै गरी उनी पनि बोले, 'नेपाली जनताको सेवा गर्ने सपना थियो । मेरो बुबा 'नेपाली जनताको सेवा गर्नुपर्छ है' भन्नुहुन्थ्यो । तर, म १२ वर्षकै हुँदा उहाँले यो संसार छोड्नुभयो । त्यसैवेलादेखि मनमा म बुबाको इच्छाको पछि लाग्छु भन्ने थियो ।' उनले पटक-पटक बेलायतमा रहँदा आफूले 'कठिन जीवन बिताएको' सुनाए, मानौँ उनले पनि थाइल्यान्डका राजकुमारहरूले एकवर्षे भिक्षु बन्नुपरेको थियो । बेलायतमा बाँचेको जीवनले उनलाई आफ्नो खानदानप्रतिको रबाफ निकै कम गरायो । 'आफूमा हुर्किएका धेरै प्रभाव, संस्कारहरू परिमार्जित भए । जनतामूखी हुनुपर्छ भन्ने सिकेँ बेलायतमा रहँदा,' उनले भने, 'बुबाको लक्ष्य, बेलायतमा बाँचेको जीवनले सायद मलाई राजनीति गर्न प्रेरित गर्यो ।' तत्कालीन राजा महेन्द्र शाह भएसम्म राणाहरूले सुख पाएनन् । 'हामीले त्यसवेला कुनै क्षेत्रमा मौका पाउने सम्भावना थिएन,' उनले भने, 'राजाहरू हामीप्रति वक्रदृष्टि राख्थे ।'
राजनीतिमा पसेपछि आफूले निकै दुःख भोगेको उनी सुनाउँछन् । आफूले सिन्धुपाल्चोकका सबै गाविसहरू चहारेको बताउँछन् उनी । ०३१ सालमा राजनीति सुरु गरेपछि पहिलो कदम शिक्षामा क्रान्ति गर्नुपर्छ भन्ने थियो । त्यसका लागि आफूसँग भएको पैसा खर्च गर्न पनि तयार भए उनी । के पशुपतिले आफ्नो खानदानको रबाफ र पैसाले राजनीति गरे ? 'त्यसो होइन । तर, राजनीतिमा पैसा पनि खर्च गर्नुपर्दोरहेछ,' उनले भने, 'तर, मैले विकासका लागि मात्र पैसा खर्च गरेँ ।' आफू हुर्केको राणाकालीन परिवेशले जनसम्पर्कमा आउन कतिको अप्ठेरो पर्यो ? 'जनसम्पर्कमा आउन अलिअलि गाह्रो त भयो नै, फेरि तल्लो वर्गको जनताको दुःख नदेखेको हुनाले त्यसो हुनु स्वाभाविक पनि हो,' उनले भने, 'बेलायतमा रहँदा अंग्रेजी मात्र बोलिन्थ्यो । नेपाल फिरेपछि मात्र नेपाली बोल्न सिकेको हुँ । भाषाको पनि समस्या पर्नेरहेछ ।'
पशुपति जन्मे, हुर्केको परिवेश नै बडो 'सामन्ती' थियो । उनले सानोमा गाउँ भोगेनन्, दुःख भोगेनन् । जनतामाझ भिजेनन् । तर, उनलाई दुर्गम गाउँका जनताले आफ्नो मनको नेता भने । सधैं चुनाव जिताए । २५ वर्षसम्म चुनाव जितिरहे । ती दुर्गम गाउँका जनताले उनलाई किन विश्वास गरे होलान् ? 'मैले उनीहरूलाई शिक्षाको ज्योति दिएँ । सबै ठाउँमा स्कुल खोल्न सघाएँ । त्यसवेला जिल्लामा हाईस्कुल बन्नुमा मेरै हात थियो । खानेपानी, सिंचाइ, विद्युत्लगायत समग्र विकासमा मेरो योगदान छ । त्यसैले मलाई जनताले आफ्नो मनैमा राखे । मलाई खाँचो केही थिएन, मात्र मनमा पलाएको सेवा-भाव हो ।'
जीवनमा उनलाई नपुग्दो केही छैन । आमनेपालीको भन्दा उच्चस्तरको जीवन बाँच्छन् पशुपति । तर, पनि उनी गरिब जनताका नेता भए । गरिबका मनैमा बसे, तर पनि यिनी कम्युनिस्ट होइनन् । 'प्रजातन्त्रवादी हुँ' भन्छन् आफूलाई । अहिले राजनीतिमा कुन दर्शनले प्रभावित भएर हिँडिरहेको ? 'बुबाको इच्छाले र बेलायतमा पढ्दा प्रजातान्त्रिक र समाजवादी उदारवादी व्यवस्थाबाट प्रभावित भएर राजनीतिको बाटो हिँडिरहेको ।' राणाशासन भोगेर आएको मान्छेले अहिलेको गणतन्त्र कसरी अँगाल्न सकेको ? 'मलाई गाह्रो भएको छैन । मैले पञ्चायत भोगेँ, बहुदल भोगेँ, राजाको शासन पनि भोगेँ, त्यसैले अनेक परिवेश भोग्ने बानी परिसक्यो ।'
यिनले राजनीति गरेको सिन्धुपाल्चोकका जनताको जस्तो दुरुह जीवन यिनको परिवारले कहिल्यै भोगेको छैन -बरु देखेका होलान्) । पहिले भनिने जस्तो राजसी ठाँटबाँट अहिले पनि छ यिनको परिवारमा । अभाव, दुःख र गरिबी कहिल्यै नदेखेका पशुपतिको परिवार र सिन्धुपाल्चोकका सुदूर गाउँका जनताको जीवन कसरी तुलना गर्नुहोला ? 'धेरै फरक छ नि, हाम्रो परिवार र उनीहरूको जीवनमा । एक माना चामल जोड्न्समेत नसक्नेहरू पनि छन् त्यहाँ । हामीले अहिलेसम्म दुःख देखेका छैनौँ,' उनले सुनाए, 'तर, मैले राजनीति गरेयता त्यो जिल्ला निकै माथि उठेको हो । जीवनस्तर बढ्दै छ त्यहाँ । निजी उद्यम बढेका छन् । जीवनस्तर निकै फेरिएको मैले देखेको छु । त्यहाँका मानिस बेलायत, अमेरिका गएको मैले देखेको छु । सिन्धुपाल्चोकमा कतै दुःख छ, कतै सुखको ठूलो संसार छ ।'
यतिको वर्ष राजनीति गर्दा उनलाई गरिबसँग पनि दया लागेन रे । 'दया गर्नुहुन्न उनीहरूलाई,' उनले सुनाए, 'बरु त्यो दुःख कसरी घटाउने त्यो पो सुरु गर्नुपर्छ ।' उनलाई दयाले ३५ वर्षसम्म रााजनीति जाँदैन भन्ने लाग्दो रहेछ । 'यो त सेवा-भाव पो हो । कहाँ दया हुनु ?' उनले भने, 'जनताको सेवा गर्न त लगाब चाहिने रहेछ मेरोजस्तै । तर, भोट दिनेहरूको सपना कहाँ पुग्यो ? 'उनीहरूको सपना धेरै हदसम्म पूरा भएको छ । जीवनस्तर सुधे्रेको छ । धेरै सुखी हुन थालेको छ जिन्दगी ।'
पशुपतिले संभ्रान्त वर्गको सबैभन्दा उच्च रूप कस्तोसम्म भोगेका छन् ? 'जति भोग्नु सोखसयल म सात वर्ष हुँदै भोगेँ दरबारमा । त्यसपछि त्यतिको सुखसयल कहिल्यै भोगिएन ।' अनि, सिमान्त वर्गका सबैभन्दा दुःखी दिनहरू कस्तोसम्म देखेका छन् उनले ? 'मैले सिन्धुपाल्चोकका घरहरूमा एकछाक भात पनि खान नपाउने गाउँहरू घुमेको छु,' उनले भने, 'उनीहरूको जीवन साह्रै गाह्रो थियो बाँच्न । एकपटक जाजरकोटको सदरमुकामबाट ३३ घन्टा हिँडेपछि मैले खान पनि नपाइबसेका जनता देखेँ । एउटा घरपुग्दा कहिल्यै पनि भात खान नपाउने, वर्षैभरि कोदोको पिठो र मकै-भटमास मात्र खाने घर भेटेँ , त्यसवेला जीवन यतिसम्म दुःखी पनि हुँदोरहेछ हगि ! भन्ने लागेको थियो ।'
उनको बिहे पनि भारतको प्रख्यात राजघरानामा भयो । ग्वालियरको सिन्धिया राजपरिवारकी सुकन्या उषा राजेसँग उनको बिहे भयो । दाइजोमा पनि उनले धेरै सम्पत्ति ल्याए । कति ल्याए भन्न चाहेनन् । छोरी देवीयानी र र्ऊवशीको बिहे पनि दिल्लीमै भएको हो । यस्ता खानदानी ज्वाइँहरू आफैंले छानेको हो कि ? 'कहाँ हुनु नि छोरीहरू आफैंले छानेका हुन्,' उनले भने । उनका आफ्नै तीनजना दिदीबहिनीहरूको पनि हिन्दुस्थानमा बिहे भएको हो । पशुपतिको ठुलोबाबुको छोरीको कस्मिरका महाराज डा. कर्ण सिंहसँग बिहे भएको हो ।
उनी अहिले पनि सिन्धुपाल्चोकका केही जनताका 'राजासाहेब' हुन् । अहिले पनि सिन्धुपाल्चोकदेखि 'राजासाहेब यति गरिदिनुपर्यो' भन्दै जागिर खोज्नेदेखि बिरामी राम्रोसँग उपचार गर्न नसक्नेहरू धेरै आउँछन् । 'म सकेको सहयोग गरिदिन्छु, सकेसम्म निराश बनाउँदिनँ,' उनले भने । संभ्रान्त जीवन बाँचेका पशुपतिले आफूलाई प्रगतिशील पनि भन्न रुचाए । 'मूलतः समाजवादी सोचाइ आए पनि धनी र गरिबबीचको खाडल चिर्न चाहन्थेँ । मुलुकलाई फेरबदल गर्ने सोच थियो । तर, खै के पो भयो देश ?' के सबै जनताले पशुपतिकै जस्तो जीवन बाँच्ने सपना देख्न सक्लान् ? 'सक्छन्, व्यक्तिगत निजी उद्यम भयो भने । उद्यमशीलता हुनुपर्यो सबैमा । नेतामा जनतालाई विपन्नताबाट मुक्त गर्ने लक्ष्य हुनुपर्यो,' उनले सुनाए ।
अक्सफोर्डका उत्पादन नेपाली अर्थशास्त्री पशुपतिशमशेर जबरा पञ्चायतीकालका जब्बर मन्त्री त हुँदै हुन्, शाही राजतन्त्र नामक मृग ओर्हालो लाग्दा लखेट्ने बाघ पनि हुन् । बदलिएको अवस्थामा कस्तो भाषा बोल्नुपर्छ, यिनलाई राम्रै थाहा छ । आफ्नै विशिष्ट शैलीको दमदार ढाका टोपी र लबेदा कस्ने फराकिलो पेटी अरू कुनै नेपालीले लगाउँदैनन्, यिनलाई भने खुब सुहाउँछ ।
यिनलाई राम्ररी चिन्नेहरू भन्छन्- सिन्धुपाल्चोकका कुनै तामाङ भेटिए, उनी पीठमा धाप मार्छन् र सोध्छन्- बालाई सन्चै छ ? उसको बाबु मरेको दशकौं भइसकेको हुन्छ । उसले जब भन्छ- बा मरेको त बीस वर्ष भयो, उनी फेरि सोध्छन्- ए आमा हगि ? उनी पनि स्वर्गे भएको धेरै भो भनेपछि उनी अरू कसैको बारेका सोधिदिन्छन् । त्यो तामाङ 'राजासाहेब'ले पीठमा थप्थपाउनुभो भनेर महिनौं दिनसम्म कुरा गर्दै हिँड्छ । राजनीतिमा यो उनको अब्बल काइदा हो । र, यसैमा उनी यात्रा गरिरहेका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment